थकाईले भुतुक्कै भएर घर छिरेको म, कपडा पनि नफेरी ओच्छानमा डङ्ग्रङ्ग ढलि ममीलाई कफी बनाइदिन आग्रह गरें । देब्रे खल्तिमा रहेको मोबाइलले बिजाए जस्तो भयो । निकालेर साइड लाउन खोजेको मोबाइलको लक स्कृन माथी नोटिफिकेसनहरु तछाड मछाड गर्दै उफृरहेका रहेछन । सुतेरै मोबाइल हेर्न थालें । केही थान ट्विटर र फेसबुकको नोटिफिकेसनहरु रहेछन । BinBik दाले add गर्नु भएको नेपाली कृकेट सम्बन्धी गफ गर्ने एउटा मेसेन्जर ग्रुप छ, तेसैको मेसेज अनि FPL gang को मेसेजहरु ।

मेसेज/नोटिफिकेसनहरु हेरेर आवश्यक्ता अनुसार रिप्लाई/कमेन्ट पछि फेसबुकको Timeline चहार्दै थिएं एउटा फोटोले मनमा चिसो पस्यो । फोटो उनको थियो । धेरै भएको थियो मैले उनको तश्विर नदेखेको । म सङ्गको सम्बन्ध बिच्छेद पछि उनको फेस्बुकमा उपस्थिती पनि त न्युन थियो । आक्कल झुक्कल अनलाइन देखिए पनि न उनको कुनै पोस्टहरु आउथ्यो न त कुनै फोटो नै ।

तर आज एक्कासी डेढ वर्ष पछिको यो उनको तश्विरले मलाई, म ढल्किरहेको ओच्छान भासिए जस्तै फिल भयो । एकाएक चिटचिट पसिना छुट्न थाल्यो, म त काप्न पो थालेछु । तश्विरमा उनी थिइन् र घाँटीमा सेतो गुलाफको माला अनि साथमा एक युवक । दुवै एकअर्कालाई हेरिरहेका थिए । उनको हात त्यस युवकको कुममा थियो अनि त्यो युवकको हात उनको कम्मरमा । अगाडी दुई तल्ले केक थियो । केकमा के लेखिएको थ्यो बुझ्न सकिन । त्यो फोटो सारेर अर्को फोटो हेरेको त्यसमा प्रस्ट देखिएको थियो: Happy Engagement TRAILOKYA 💛 PARIDHI

घाँटी सुकेको जस्तो भयो । मुख सुक्खा । ओच्छान सङ्गैको टेबलमा रहेको बोत्तल उठाएर पानी पिउन थालें ।

एक बोत्तल पानी सक्काउदा बल्ल श्वास आए जस्तो भयो । दिमागमा पुराना कुराहरु सल्बलाउन थाले । टाउको फुट्ला जस्तो गरि दुख्न थल्यो अनि आखाबाट बरर आशुका धाराहरु बग्न थाले ।

“हजुर बिनाको लाइफ मैले कल्पना सम्म गर्न सक्दिन । मलाई कहिल्यै नछोडिस्यो है ।” यसै भन्थी उनी । यति भनिरहदा उनको अनुहार मलिन हुन्थे । म उनको चिउडोलाई आफ्नो औलाले माथी उठाएर निदारमा चुम्दै “धत लाटी! के बोलेको त्यो? म सक्छु होला तिमी बिना बाँच्न?” यसै भन्थें । उनीलाई खुसी हुन ठूलो बहाना नै नचाहिने । उनी एक्कैछिनमा खुसी हुन्थी र मलाई अङ्गालोमा कसेर बेर्थी । त्यो समय लाग्थ्यो स्वर्ग भनेकै यहि हो । फगत इन्द्र र अप्सराहरु त शास्त्रका कहानी मात्र हुन ।

म टुक्रुक्क बसेर त्यो अघिको तश्विर जुम गरि गरि हेर्न थालें । दिमागमा उनीसङ्ग बिताएका पलहरु ms powerpoint मा slide show बगे जस्तै बग्दै थिए ।

एक्कासी उनको मास्टर्सको research पेपरका लागि भनेर तारे भिर गएको दिन सम्झिन थालें । जङ्गलको अफ्टेरो बाटोमा पछाडीको टायर खिइसकेको मेरो अपाचे मोटर साइकल । टायर चिप्लेर लड्ला लड्ला जस्तो हुन्थ्यो अनि उनी आत्तिदै मलाई च्याप्प समाउथि ।

त्यो नागदहमा उसको प्राक्टिकल हुँदा गुगल म्याप हेर्दै उसलाई लिन गएको क्षण । फर्किदा पाटन दरवार स्क्वाएर छिरी कृष्ण मन्दिर अगाडि पानीपुरी खाएका पलहरु अझै पनि मानस्पटलमा ताजै छन ।

“मेरो बाबा, सुनिस्यो न । कलेजको प्राक्टिकलको लागि गोदावरी बोटानिकल गार्डेन जानू पर्ने छ, भोलि हजुर पनि म सङ्ग हिडिस्यो न है?” गोदावरी गार्डन नपुगेको म उसको त्यो आग्रह नकार्ने कुरै थिएन। तिम्रो साथीहरु/टिचरहरु हुनुहुन्छ होला मलाई अफ्टेरो हुन्छ नि भन्दा, “के भो त साथीहरुलाई हजुरको बारे थाहै छ । सर/मिस कोही जाने हैन, हामी स्टुडेण्टहरु मात्र जाने हो ।” यस्तो भन्ने उ आज कुनै तेश्रो व्यक्तिसँगको अङ्गालोमा थिइन् अनि म यहाँ उनैको तश्विर हेर्दै आँसुका बलिन्द्रा झार्दै ।

यतिकैमा कोठाको ढोका खुल्यो । हत्तन पत्त आँखाका आँसु पुछें । ममीले कफी ल्याइदिनु भएको थियो । “हेर्नू न ममी आँखामा एक्कासी के पस्यो कुन्नी बिझाइरहेको छ ।” यती भन्दा नभन्दै ममीले आँखा भित्र फुकिदिनु भयो अनि म निको भए जस्तै गरि कफी पिउन थालें ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *