टिकाथलीको खुल्ला फाँटमा हुर्केको म, ड्याडीले बनाइदिनु भएको काठको त्यो भारी ब्याट लिएर स्कुल सक्किने बित्तिकै क्रिकेट खेल्न चौरमा पुग्थें । सचिन, प्रदिप, उमेश लगायत अन्य साथीहरु सधैं तेही चौरमै भेटिन्थे । अनि सुरु हुन्थ्यो हाम्रो क्रिकेट ।

अहिले जस्तो सुचना प्रबिधिको बिकाश नभैसकेकोले हो वा नेपाली क्रिकेटबारे तेति चासो नराख्नाले हो, बच्चैबाट क्रिकेट खेल्ने भए पनि नेपाली क्रिकेट टिमबारे तेति जानकारी थिएन । ६२/६३ को जनअन्दोलनले राजा फ्याल्ने निर्णय गरेसँगै नेपालको नयाँ संबिधान लेख्ने जिम्मेवारी सहित “संबिधान सभा” को निर्वाचन २०६४ सालको चैत्र २८ गते हुने निर्णय भयो । यसको सिधा असर SLC परिक्षामा पर्यो । सधै चैत्रको दोश्रो साता हुने गरेको SLC परिक्षा सोहि निर्वाचनका कारणले चैत्र ४ बाटै सुरु हुने भयो ।

SLC सकिएपछिका दिनहरुमा बिहान कम्प्युटर क्लास लिन कोटेश्वोर पुगिन्थ्यो अनि दिउसोको चर्को घाममा चौरको बास हुन्थ्यो । फेरी धेरै साथी पनि नचाहिने हामीलाई । लोकन्थलीबाट सुशील आउथ्यो, म सचिन अनि प्रदिप भए पुग्ने । चौर छेवैको घरको भित्ता भन्दा अलिक अगाडी स्टम्प गाड्दा विकेटकिप्पर नचाइने भएकाले एउटा ब्याट्सम्यान, एउटा बलर अनि दुई जना फ़िल्डर भए पछि के चाहियो?

दिनहरु यसै गरी बित्दै थियो । सायद जेठको महिना हुनु पर्छ, एक दिन समाचारमा नेपालका मेहबुब आलमले एक दिवसीय खेलमा सबै १० विकेट लिएको समाचार आयो । भारत, पाकिस्तान, अष्ट्रेलिया लयागत राष्ट्रहरुका खेलाडीहरुले क्रिकेटमा यसो गरे उसो गरे भनि समाचार सुनिदै आएकोमा आज नेपालकै खेलाडीले १० विकेट एक्लैले लिगे भन्ने सुन्दा आश्चर्य लाग्यो र सुरु भयो नेपाली क्रिकेटलाई पच्छाउने काम ।

अहिले जस्तो इन्टरनेटको पहुच कहा थियो र त्यो बेला ? के रैछ टुर्नामेन्ट भनेर समाचार ध्यान दिएर सुन्दा अनि घर छेवैको किराना पसलमा आएको कान्तिपुर पत्रिका पढ्दा नेपालले जर्सीमा आयोजना भैरहेको 2008 ICC World Cricket League Division Five खेल्दै रहेछ र नेपालका आदरणीय महबुब आलम दाईले २०६५ साल जेष्ठ १२ को दिन मोजाम्बिक बिरुद्ध सबै १० विकेट आफ्नो नाममा पार्नु भएछ । सेमीफाइनलमा अफगानिस्तानसँग पराजित भएपछी उक्त प्रतियोगितामा तेश्रो स्थानका लागि भएको खेलमा अमेरिकालाई ९६ रनले पराजित गरेपनि नेपाल डिभिजन ५ मै रहनु पर्ने भयो ।

SLC को नतिजा आयो । सोचे जस्तो नतिजा नआउँदा मन खिन्न भयो । तर अब त कलेज पढ्ने भन्ने फ़िलिङ्गस् ले SLC को नतिजा भुलाइदिन थाल्यो । +2 मा बिज्ञान बिषय पढ्ने रहर थियो । तेसै अनुसार भर्ना भए । कलेज लगनखेलमा थियो अनि बसाई टिकाथली । लोकन्थली निस्किएर गाडी चड्नु पर्ने तेस्माथी त्यो बेलाको साँगुरो भक्तपुरको बाटो । दिनमा २ घण्टा त जामलाई नै छुटाउनु पर्ने । दिउसो ११ देखि साझ ५ बजे सम्म कलेज नै हुन्थ्यो, क्रिकेट खेल्ने तेही सनिबारको दिन मात्र भयो । सुरुसुरुका सनिबार त समय मिलाएर खेलिन्थ्यो नै तर बिस्तारै ल्याब रिपोर्ट र Unit Test भन्दै गर्दा खेल्न कम र क्रिकेट फलो गर्न धेरै थालियो । दिन बित्त्दै थ्यो १२ पढ्ने भैसकेको थिए । नेपालले 2010 ICC World Cricket League Division Five आयोजना गर्ने खबर सुनियो ।

फाल्गुनको महिना चल्दै थियो ।  सुरुवाति ४ खेल जिति अंक तालिकाको शिर्ष स्थानमा रहेको नेपालले आफ्नो अन्तिम खेल अमेरिका संग खेल्नु पर्ने थियो । लिगको उत्कृष्ट २ टिम त्यसै साल इटालीमा हुने लिग डिभिजन ४ मा बढुवा हुने पक्का थियो । तेसैले त ४ खेलमा समान ६ अंक बनाएका अमेरिका र सिंगापुर पनि उत्कृष्ट २ मा आफ्नो स्थान बनाउन आतुर थिए । अमेरिका बिरुद्ध नेपालको खेल क्रितिपुरमा हुने तय थियो भने बिरेन्द्र सैनिकको मैदानमा जर्सीलाई हराएर सिंगापुर पनि आफुलाई शिर्ष २ स्थानमा राख्ने सोचमा थियो ।

फाल्गुन १४ गते शुक्रबारको दिन, कलेज खै किन हो बिदा थियो । +२ का साथीहरु किशोर, रञ्‍जित र हित सँग क्रितिपुर खेल हेर्ने जाने सल्लाह मिलाए । सल्लाह बमोजिम शुक्रबार बिहान ८ बजे लगनखेलमा भेला हुने निर्णय गरि अगिल्लो दिन छुटिएका हामी साँढे ८ बज्दा सम्म केटाहरु आइपुगेनन् ।

जिन्दगीमा पहिलो पटक कुनै पनि खेल मैदानमै गएर हेर्न आँटेको म, सुरुवाती ओभरहरु छुट्ने भयो भनी निराश हुन लागें । ९ बज्दा लगनखेल आइपुगेका केटाहरु अझै च्या चुरोट पछि गाडी चड्ने भन्न थाले । अब ३ जनाले तेसो भनेसी म एक्लैले हुन्न भन्ने कुरो पनि त भएन । सधै चिया खाने गरेको पिनाकल कलेज अगाडिको च्या पसलमा बसेर चिया खाइयो । केटाहरुले चुरोट ताने म चुरोट नखाने मान्छे क्रिम डुनट खान थालेँ । चिया सकिएपछि चारै जना पहेलो रङ्गको गाडी चढेर लागियो क्रितिपुर ।

गाडी भरिभराउ थियो र कारण एकै: “नेपाली क्रिकेट” । एकान्तकुना पुगेको थियो होला गाडी, एउटाले “ला ३ विकेट गैसकेछ” भनेर चिच्यायो । मन आतियो । पहिलो पटक मैदान गएर खेल हेर्न तम्सिएको म, मैदान पुग्दा आदि टोली नै पबिलियन फर्किने भए भन्ने डर भयो । क्रितिपुर गेटमा पुगेर गाडी रोकेपछि हामी ४ जना यसरी कुदियो कि मानौ हामीलाई पछाडीबाट कुनै हृम्सक जनावरले लखेट्दै छ । टिकेट काटेको सम्झना छैन, सायद त्यो बेला टिकेटको चलन नै थिएन कि ।

दर्शकहरु बस्ने चोभार पट्टिको डाँडामा पुगेर चौरमा हेर्दा कप्तान पारस खड्का र शरद भेस्वाओकर क्रिजमा रहेछन । पहिलोपटक मैदानमै पुगेर खेल हेर्न पाएको म मा खुसीको कुनै सिमा नै थिएन ।

चलिरहेको ओभर सकियो । हामी त ओभर सक्किएपछि स्ट्राइकर र नन स्ट्राइकरले आफ्नो स्थान परिवर्तन गर्थियौं, तर यहा त जहीं को तही बसे । उल्टो पबेलियन तर्फ बसिरहेका विकेटकिप्पर पो यता चोभार एण्ड तिर आए, किपिङ्ग गर्न । तेसदिन क्रिकेटमा नया कुरा जाने जस्तो भान भयो ।

दर्शक बस्ने ठाँउ भरि भराउ थियो । तेतिका मान्छे सायद पहिलो पटक देखेको हुँला मैले । गित गाएका छन् नाचेका छन् । “नेपाल, नेपाल” भन्दै चिच्याएका छन् । पारस खड्का, छक्का पडका भनेका छन् । माहोलै अर्कै हुने रहेछ मैदानमा त ।

यतिकै मा कप्तान पारस खड्का आउट भए । दर्शकमा निराशा छायो । एकै छिन त मैदान सुनसान नै भयो । अनि क्रिजमा ज्ञानेन्द्र मल्लको आगमन भयो । आफुले फेस गरेको दोश्रो बलमा मल्लले चौका हानिदिए । अनि त के चाहियो र? अगिको निराश जमातमा एक्कासी उर्जा थपियो त्यो चौकाले ।

खेल चल्दै थियो । यतिकैमा १५ रन बनाएर क्रिजमा रहेका शरद भेस्वाओकरलाई विकेटकिप्परले समातेसी महेश क्षेत्री आए । उनी जम्न सकेनन् । २१ बल सामना गरेका उनले ३ रन बनाउदै पबिलियन फर्किदा दर्शक उल्टै हुटिंग गरेर सिट्ठी बजाउन थाले ।

म अचम्मित भए । आफ्नै देशको खेलाडी आउट हुँदा किन सिट्ठी बजाए होलान्? तर कारण त अर्कै रैछ: क्रिजमा महबुब आलमको उपस्थिति ।

ज्ञानेन्द्र मल्ल र महबुब आलमले नेपाली इन्निङ्ग्स उकासे । २ चौका र त्यो इन्निंगकै एक मात्र छक्का हिर्काएका महबुब आलम ४४.२ ओभरमा रनआउट हुन पुगे । फेरी तेसै ओभरको अन्तिम बलमा ज्ञानेन्द्र मल्ल पनि LBW को शिकार भएपछी नेपाली पारी धर्मराउन थाल्यो । एक चौका हानेर बसन्त रेग्मी पनि अन्तिम ओभरको चौथो बलमा बोल्ड हुँदा नेपाली पारी ९ विकेटको क्षेतीमा १६२ रनमा समेटियो ।

उता सैनिक मैदानमा सिंगापुरले जर्सीलाई १९२ रनमा अलआउट गर्यो रे भन्ने खबर यतै दर्शकहरु मध्ये बाटै आयो । ला तनाब अब । यता नेपालले अमेरिका सङ्ग जम्मा १६२ बनाएको छ, उता जर्सीलाई १९२ मै सिंगापुरले रोक्यो । अब यता नेपाल हार्यो र उता सिङ्गापुरले जित्यो भने के हुन्छ? मनमा कौतुहलता जाग्यो । कसैले पछाडीबाट रनरेटमा हामी अगाडी छौँ भने पछि अलीक आशा पलाएको थियो । तर क्रिकेट खेल अनिश्चितताको खेल भन्छन । २०-२५ ओभर भित्रै जर्सीलाई सिंगापुरले हरायो भने त रनरेट सुधार्दै हामी भन्दा माथी आउन सकिहाल्छ नि सिंगापुर । मनमा यहि कुरा खेल्दै थियो ।

अहिले जस्तो दर्शक बस्ने ठाउ पछाडी ठुला बार थिएन । पर्खाल थियो तेही पर्खाल नागेर अलिक तलको खाजाघरमा खाजा खान गयौं । तेत्रा दर्शक थिए खाने कुरा के बाकि हुनु? सकिएछ अनि चाउचाउ र पानी बोकेर फेरी फर्कियौं । केटाहरुलाई चुरोट खानु पर्ने, चुरोट पनि किनेर ल्याए अनि तेही पर्खाल छेवैमा उभिएर चुरोट तान्न थाले । खेल सुरु भएछ । महबुब आलमले बलिङ्ग सुरु गरे । म चै पर्खाल नागेर अगि बसेकै ठाउमा लागें खेल हेर्न ।

अमेरिकाका ब्याट्सम्यानले पहिलो ओभरको चौथो बलमै चौका हानिदिए । रिस उठ्यो । पहिलो ओभरमा ६ रन गयो । दोश्रो ओभर कप्तान आफैंले गरे । सिङ्गल/डबल गर्दै यो ओभरमा पनि ६ रन बन्यो ।

तेश्रो ओभर लिएर आलम दोहोरिए । पहिलो बलमै चौका गयो । रिसको सिमा रहेन गालि गर्न थालियो खेलाडीलाई । तेही ओभरको चौथो बलमा आलमले पहिलो सफलता दिलाए । अगि सम्म आलम संग रिसाएका हामी फेरी एकाएक उसको जयजयकार गर्न थाल्यौं । यो क्रिकेट भन्ने खेल साचै अचम्मको हुने । अगि सम्म जसलाई गालि गर्दै थियौं एकै छिनमा उसैको तारिफ गरिने ।

खेल चल्दै थियो । पाचौं ओभरमा बसन्त रेग्मी आए बलिङ्ग गर्न । पहिलो ओभर मेडन फ्याँके । रमाइलो लागिरहेको थियो यो देख्दा । साँचै आफ्ना खेलाडीले राम्रो प्रदर्शन गर्दा छाती फ़ुलिएर आउने क्या । तेस्माथि चौरमा नेपाल नेपाल भन्दै चिच्याउदा । ओहो त्यो क्षण शब्दमा बयान गर्नै नसकिने ।

दोश्रो सफलता पाउन धेरै कुर्न पर्यो । १४ औं ओभरको पहिलो बलमा शक्ति गौचनले विकेट लिए । देर आया दुरुस्त आया वाला फिलिनङ्गस् आयो । तर अर्को पट्टि अमेरिकी कप्तान मसिहा आक्रामक बन्दै थिए । उसलाई साथ दिन आएका सुशील नाड्कर्नीको आक्रामक ब्याटिङ्गले त झन नेपालको दोश्रो चरण प्रवेश गर्ने सम्भावना कम्जोर बनाउदै लग्यो । २४ औं र २५ औं ओभरमा लगालग रेग्मी दाजु भाई(बसन्त र सन्जम)ले विकेट लिएर नेपाली दर्शकलाई केहि आशाको संचार गराएका थिए ।

तर तेसैबेला भीडबाट कसैले बिरेन्द्र सैनिक मैदानमा सिङ्गापुरले जर्सीलाई २६ औं ओभरमै पराजित गरेको समाचार सुनाए । मनमा चिसो पस्यो । अमेरिकाले ३० ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाएर १२६ रन बनाइसकेको थियो । र उसका लागि सुशील नाडकर्नी आक्रामक रुपमा प्रस्तुत भैरहेका थिए । ३१ औं ओभरमा नेपालका लागि राहुल विश्वकर्माले बलिङ्ग गर्दै ५ रन खर्चिए तर विकेट लिन सकेनन् । अब अमेरिकालाई जितका लागि मात्र २६ रन आवश्यक थियो र उ संग १९ ओभर पुरै बाकि थियो । यस्तोमा खेल जित्नका लागि नेपालले विकेट लिनु जरुरी थियो जुन भैरहेको थिएन ।

आफ्नो व्यक्तिगत ९ औं तथा टोलीका लागि ३२ औं ओभर लिएर बसन्त रेग्मी बलिङ्ग गर्न आए । क्रिजमा अमेरिकाका आदित्य थ्यागराजन ६ बलको सामना गर्दै ४ रन बनाएर ब्याटिंग गर्दै थिए । पहिलो २ बल डट गयो । क्राइसिस म्यानको उपाधि पाएका बसन्त रेग्मी बलिङ्ग गर्दै थिए र उनले यो ओभरमा विकेट निकाल्नेमा हामी बिश्वस्त थियौं । तर बसन्त रेग्मीको तेश्रो बलमा आदित्यले उठाएर छक्का हानिदिए । जितका लागि अमेरिकालाई मात्र २० रन चाहियो ।

हामी उभेको छेवैको भिडका एक युवा रिसाएर पानीको बोत्तल चौरमा फ्याले । हामीहरु उनीलाई तेसो नगर्न आग्रह गर्दै थियौ । चौथो बलमा आदित्यले सिङ्गल निकालेर नाडकर्नीलाई स्ट्राइक दिए । अब चाहियो १९ रन । पाँचौं र छैठौं बलमा नाडकर्नीले लगालग २ छक्का हानिदिए । अब अमेरिकालाई जितका लागि मात्र १२ रन चाहियो । तर त्यो दुइ छक्काका कारण भिडले आफ्नो संयमता गुमायो । सबै जना पानीको बोत्तल र माटोको डल्ला मैदान तिर फ्याल्न थाले ।

आफु अनुकुल माहोल नबन्दा मान्छे कस्तो सम्म बन्छ भनेर त्यो घटनाबाट सिक्ने मौका पाइयो । अगि सम्म बोत्तल नफ्याल्न आग्रह गरेका हामी अहिले तेही हुल सँग मिलेर मैदानमा बोत्तल र माटोको डल्ला फ्याल्न थाल्यौं । एकै छिनमा खेल रोकियो । नेपाल प्रहरीको एक टुकडी हामी भए तिरै आएर अन्दाधुन्द लाठी बर्साउन थाले । अब ज्यान जोगाउन त भाग्न पर्यो, तेस्पछि चारै जना पछाडीको पर्खाल नागेर टाप । अझ तेतिले मात्र के पुग्थ्यो? पर्खाल पछाडीको बारीमा भएका माटाका डल्ला उठाई उठाई फेरी मैदान ताकेर हान्न थालियो । मैले पनि त्यहाको एउटा इट्टा फुटाएर फ्याल्न खोज्दै थिए तेतिकैमा नेपाल प्रहरीका एक जवानले गोलो, ठुलो मुख भएको बन्दुक मै पट्टि तेर्स्याए । अब परेन फसाद? गोली हान्द्यो भने त सकियो ज्यान भनेर टाप ठोकियो आयुर्बेधिक बिभाग तिर । ज्यान जोगाउनका लागि यसरी भागिएछ कि ४ जना कता भैयो कता । अलिक पर पुगेर केटाहरुलाई फोन गरेर फेरी एकै ठाउमा जम्मा भयौं ।

केटाहरु घर जाँउ अब भन्न थाले । मैले नै जिद्दी गरेर गेम हेर्न आको मान्छे गेम नसक्काइ कसरी फर्किनु भनेर फेरी खेल मैदान तिर जान आग्रह गरें । अब अगिकै पर्खाल नागेर जाने कुरो पनि भएन त्यहा त पुरै पुलिस होलान भनेर फेरी मेन गेटबाट छिरियो र गएर पुलिस छेवैमा बसियो । अझ केटाहरुले गर्नु गरे नि आज, यस्तो गर्नु नहुने थियो भन्दै पुलिसहरु संग गफ लगाउन पो थालियो ।

खेल केहि समयको लागि स्थगित भएछ । लगबग आधा घण्टा पछि फेरी खेल सुचारु गरिने भयो तर ओभर छोट्याएर । डकवर्थ लुइस मेथड अनुसार ४ ओभर घटाएर खेल ४६ ओभरको बनाइयो र अमेरिकालाई १५७ रनको नया लक्ष्य प्रदान गरियो । अब त झन जित्ने आशै रहेन । जम्मा ७ रन त बाँकी रहयो । सकियो अब खेल । डिभिजन ४ उक्लिने सपना यो पाली पनि सपनै होला जस्तो भयो ।

३३ औं ओभर लिएर शक्ति गौचन आए बलिङ्ग गर्न । पहिलो ३ बल डट फ्याल्दै एक ओभरमा उनले ४ रन दिए । अब जितका लागि मात्र ३ रन चाहिएको स्थितिमा सन्जम रेग्मी बलिङ्ग गर्न आए । अमेरिकाले लक्ष्य तेसै ओभरको तेश्रो बलमा चौका प्रहार गर्दै हासिल गर्यो । सबै दर्शक निराश मुद्रामा घर फर्किनु को बिकल्प थिएन त्यहा । हामी पनि नराम्रो मान्दै लाग्यौं बल्खु तिर । त्यहाबाट भक्तपुर आउने गाडी चड्यौं । केटाहरु ग्वार्कोमा झरे म सिधै लोकन्थली झरें ।

पहिलो पटक मैदानमै गएर खेल हेर्न हौसिएको म, बिभिन्न अनुभव संगाल्दै निराश मुद्रामा घर छिरेको मात्र के थिएँ ममी टिभि कोठाबाट; “ढुंगा हानेरै जिताएछौ त टोलीलाई” भन्नुभयो । “कहाँ जिताउनु, हार्यो नि नेपाल । सिङ्गापुर पुग्यो फाइनलमा ।” भनेको समाचार हेर्न आउ भनेर बोलाउनु भयो । नभन्दै समाचारमा नेपालले सिंगापुरलाई ०.००४ रन रेटले पछाडी पार्दै फाइनल प्रवेश गरेको समाचार प्रसारण भैरहेको थियो । मेरो आँखाबाट अनायासै आँशु झरेछ । हर्षका आँशु ।

आज २०७६ साल असारको २५ गते सम्म आइपुग्दा नेपाली क्रिकेटले धेरै ठुलो छलाङ्ग मारिसकेको छ । कोच पुबुदु दशानायकेको प्रशिक्षणमा पहिलो पटक २०१४ को टि-२० विश्वकप खेल्ने देखि लिएर २०१५ देखि २०१७ सम्म चलेको वोर्ल्ड क्रिकेट लिग च्यापियनशिप हुदै २०१८ मा सम्पन्न ICC World Cricket League Division Two बाट नेपाली टोलीले एकदिवसीय मान्यता समेत हात पारेको छ । अहिले पनि नेपाली टोली सन् २०२० मा अष्ट्रेलियामा हुने टि-२० विश्वकपको छनौट खेलको तयारीका लागि मलेसियामा रहेको छ । त्यस दिन देखि आजसम्म पनि जतिबेला नेपाली क्रिकेटको कुरा निस्किन्छ, म तेही ढुङ्गा हानेर जिताएको क्षण सम्झिन्छु अनि मुसुक्क मुस्कुराउछु ।

सोच्छु हामीले त्यसदिन ढुङ्गा नहानेको भए नेपाल आज कहाँ हुन्थ्यो होला? के हामी अहिले ODI मान्यता प्राप्त राष्ट्र भैसकेका हुन्थ्यौं वा अझै अमेरिका जस्तै डिभिजन २,३ तिरै अल्झिरहेका हुने थियौं?

Leave a Comment

Your email address will not be published. Required fields are marked *