कोटेश्वोर, बाल्कुमारी, ग्वार्को, सातदोबाटो, लगनखेल, लगनखेल…दाइ जाने हो?

हत्तिछाप चप्पल, मैलो जिन्स, रातोमा कालो चेक सर्ट र त्यो बाहिर बाहुला नभएको ज्याकेट लगाएको, उमेरले भर्खर ११-१२ टेकेको जस्तो देखिने फुच्चे केटो, खुद्रा पैसाहरु हातमा मिलाउदै बिसैनीमा कराउदै थियो ।

यसो हेर्दा गाडीमा खुट्टा अढ्याउने ठाउँ पनि थिएन । साँघुरो गोठमा अटाइ नअटाइ खसीबोका कोचेको भन्दा बेसी मान्छे कोचिएका थिए । गाडीमा मान्छेहरु यति धेरै थिए कि तिनको भार थेग्न नसकेर त्यो गाडीनै देब्रे पट्टि ढल्किएको थियो । म चडौ कि नचडौ को दोधारमा परें ।

मेरो मनको दोधार बुझेछ क्यारे, उ “दाई यो गाडी छुट्यो भने अर्को आउन आधा घन्टा लाग्छ नि फेरि” भन्न थाल्यो । हुन पनि हो । लगनखेल-भक्तपुर रुटको गाडी यति कम छन कि एउटा छुट्यो भनेर अर्को आउन कम्तिमा पनि १५ देखि २० मिनेट कुर्नै पर्ने हुन्छ ।

लगनखेलमा रहेको मेरो कलेजमा दिउँसो ११ बजेबाट क्लास सुरु हुन्थ्यो । तर यो कोटेश्वोरको जामले १२ को क्लास सुरु भए देखि म कहिल्यै पनि समयमा पुगिन । जहिल्यै ५-१० मिनेट ढिलो भएकै हुने । २ लेनको भक्तपुरको बाटो, कोटेश्वोरको जामले गाडी ठिमी सम्मै रोकिने हुन्थ्यो अनि कलेज जान सधै २ घण्टाको समय छुट्याउनु पर्ने । बल्ल बल्ल कोटेश्वरको जाम छिचोल्यो, उता बालकुमारी-ग्वार्को चक्रपथ खण्डमा तेतिकै जाम हुने ।

यसो घडी हेरेको ९:३० भैसकेको रहेछ । Discipline Incharge (DI) को गाली खाँदा खाँदा वाक्क भैसकेको म जेनतेन एउटा खुट्टा अड्याउने ठाउँ भेटियो भने यसैमा जान्छु भन्ने निश्चय गरेर गाडीको ढोका नेर पुगे ।

सुजन यसैमा चड है अर्को गाडी कुर्दा ढिलो हुन्छ ” भित्र कतैबाट आवाज आयो । मैले चिनिहालें, त्यो स्वर सुर्यबिनायकबाट आउने मेरै साथी सुजन श्रेष्ठको थियो । उ पिनाकल कलेज पढ्थ्यो । लगनखेल बसपार्कमा भक्तपुरको गाडी कुर्दा कुर्दै गाँसिएको थियो हाम्रो मित्रता । मैले मेरो bag झ्यालबाट उसैलाई थमाइदिए र जेनतेन एउटा खुट्टा अड्याएर गाडी चडे ।

गाडी अलिकति के गुडेको थियो लोकन्थली-जडिबुटी बिचको मनोहरा पुल अगाडी फेरी रोकियो । गाडीमा रहेकाहरुले ढिलो भैसकेको भन्दै लोकन्थली फाँटबाट मटार हुँदै बालकुमारी निस्किन ड्राइबरलाई आग्रह गर्न थाले । ड्राइबरले पनि गाडी देब्री पट्टिबाट लोकन्थलीको फाँटैफाँट मटारको बाटो हुँदै गाडीलाई बालकुमारी निकाले ।

ग्वार्को पुगेपछि गाडी भित्रको मान्छेको चाप अलिक कम भयो । म पनि सुजन भएकै सिटमा पुगेर बसे । मलाई सुजन मेसुट ओजिल जस्तै लाग्थ्यो । गाडी चड्न गाह्रो भएको देखि फुटबलको कुरा गर्दा गर्दै गाडी सातदोबाटोबाट लगनखेल पट्टि मोडियो । अगिको फुच्चे सहचालक भाई पनि सिटमा रहेको हामी सबैसँग गाडी भाडा उठाउन आयो ।

लोकन्थलीबाट लगनखेल भाडा १० रुपैया थियो । स्टुडेन्ट कार्ड हुनेलाई ७ रुपैया । हामीले आ-आफ्नो भाडा दिएपछि सह-चालक भाई पछाडी भाडा उठाउन गयो । हामी फेरी पनि फुटबलको गफ गर्दै थियौ, पछाडी कुनै केटी र सह-चालकको भाडाको विषयमा भनाभन परेको सुनियो ।

के भएछ भनेर पछाडी फर्केको त हामी भन्दा ठ्याक्कै पछाडीको सिटमा एउटी युवतीको कार्ड त्यो सह-चालक भाइले “यो डुप्लिकेट कार्ड हो यो कलेजको कार्ड अर्कै खालको छ भनेर भनिदिएछ । मैले पहिलो पटक कोहि केटी डरले तेसरी रातो पिरो भएको देखें । कलेजको पहिलो हप्ता ड्रेस रेडी नभैसकेकाले आउट ड्रेसमै कलेज हिडेकी रहिछन । उनको आँखाको डिलैमा टिलपिल भएका ति आँशु देखेर मेरो मनमा चसक्क बिझ्यो । मैले परिस्थिति सुधार्ने मनसायले “खै भाई कार्ड हेरौं त” भनेर त्यो सह-चालक भाई संग कार्ड मागें । संयोग पनि कस्तो पर्यो भने त्यो कार्ड मै पढ्ने कलेजको रहेछ । हामी ११ पढ्दा सम्म Vertical आइडी कार्ड थियो भने त्यो बेलाको नया ब्याजका लागि कलेजले Horizontal डिजाइनको कार्ड बनाएको रहेछ । मैले सहचालक भाइलाई त्यो हाम्रै कलेजको कार्ड हो, कार्ड डिस्काउन्ट गर्नु भनेर सम्झाएपछी बल्ल स्थिति सामान्य भयो ।

Thank You so much दाई” पछाडीबाट आवाज आयो । यो पाली मैले स्वर चिनिहालें । यो उनैको आवाज थियो । “Its Ok भन्दै म पनि पछाडी फर्किए ।

अघिको टिलपिल आँशु अहिले उनको आखामा थिएन । बरु तेस्को ठिक बिपरित उनको आखामा छुट्टै प्रकारको चमक देखियो । यस्तो चमक जसले मेरो आखा हुँदै सिधै मुटुमै छोयो । साना साना मोतिका दाना जस्ता उनको आखा, मिलेका ति परेलीहरु, ओहो! कुनै कविले उसको कवितामा वर्णन गर्ने काल्पनिक पात्र भन्दा कम थिइनन् उनि ।

गहुँगोरो अनुहारमा कलेजी रङ्गको लिपिस्टिकले बिछट्टै राम्री देखिएको थिइन् उनि । देब्रे पट्टि, ओठ भन्दा अलिक माथीको त्यो कोठीले त झन सुनमा सुगन्ध थपेको भान हुन्थ्यो । उनको सुन्दरताले मलाई यति मोहित बनाएछ कि म त एकटकले उसैलाई हेर्न थालेछु । संगैको साथी सुजनले मेरो गालामा प्याट्ट पड्काएपछि पो म झसंग भए ।

उनि अफ्टेरो मानेर आखा झुकाएर निउरिरहिएकी रहिछ । मलाई पो लाज लाग्यो । “धत्तेरिका के गरे मैले भर्खरै । अब कसरी उसलाई फेस गर्ने? के सोचिन होला मेरो बारे ।” यस्तै कुरा मनमा खेल्दाखेल्दै गाडी लगनखेल बसपार्कमा गएर रोकियो ।

बस भित्रका यात्रुहरु पालै पालो ओर्लिन थाले । हामी सिटमै थियौं । यतिकैमा उनि उठेर अगाडी आइन र झर्ने हैन भनेर मुसुक्क हांसी । हामी तिनै जना संगै गाडीबाट ओर्लियौं । सुजन र म हात मिलाउदै त्यहाँबाट बिदा भयौं । उनी अलिक अगाडी मलाई कुरिरहेकी रहिछ । म पनि त्यहा पुगें अनि हामी संगै कलेज तिर लाग्यौं ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *