तिनकुनेको लाइट पार गरि बेगमा बत्तिएको Apache RTR एअरपोर्टबाट गौशाला तिर लाग्दा आफ्नो गति सिमित गर्दै तिलगंगा छेवैको बाटोबाट दाहिने मोडिन्छ । अब बाइकमा गति निकै कम छ । ढुङ्गाले छापेको बाटो पानी परिरहेकाले चिप्लो छ । तेहि चिप्लो बाटोमा बिस्तारै गुड्दै बागमतिको किनारमा पुगेर झ्याप्प ब्रेक लाग्छ अनि ओर्लिन्छु म ।

फाल्गुनको अन्तिम सोमबार पशुपति पुगेपछी चैत्र २ गते अप्रेशन गरेर बेड रेस्ट गर्दै गर्दा सरकारले ११ गते लकडाउन घोषणा गरिदियो । झन्डै सात महिना पछि यस पुन्यभुमीमा पाइला टेकेको म, मेरो पहिलो दृष्टि आर्यघाटमा जलिरहेका शवहरुमा पर्छन । एक तमाशले हेरिरहन्छु जलिरहेका ति लाशहरुलाई । आँखाबाट अनयासै बरर आँसुका ढिका बर्षिन्छन । आखिर के नै छ र मानवको चोला । एक मुठी श्वास रहुन्झेलको त हो हाम्रो यो दम्भ । श्वास रितिएको दिन अर्कैको काँध चडी तेसैगरी धुवाँमा परिणत हुनु छ । यस्तै सोच्दै आँसु पुछेर मन्दिर परिसरतिर लम्किन्छु ।

Covid-19 महामारी सँगै सरकारले लगाएको रोकका कारण बन्द छ मेरो आराध्यदेव बिराजमान रहनुभएको स्थान ।

पाइलालाई बागमती सन्ध्या आरती हुने स्थान तिर मोड्छु । भर्याङ्ग उक्लिदै त्यही आरति हुने ठाउमै पुग्छु र प्रणाम टक्राउछु भोलेबाबालाई । दुइहातहरु आफै जोडिन्छ र झुक्छन शिर मेरा । माफी माग्दै अबबाट यत्रो लामो समय नलगाउने वाचा पनि गर्छु । ओठले पञ्चाक्षर स्तोत्रम पाठ गर्न खोज्दै छ ।

आज छुट छ यी ओठलाई । बाबाको भक्तिगान गाउन रोक्ने दुस्साहस पनि त म बाट हुन सक्दैन ।

नागेन्द्रहाराय त्रिलोचनाय
भस्माङ्गरागाय महेश्वराय ।
नित्याय शुद्धाय दिगम्बराय
तस्मै न_काराय नमः शिवाय ॥१॥

मन्दाकिनीसलिलचन्दनचर्चिताय
नन्दीश्वरप्रमथनाथमहेश्वराय ।
मन्दारपुष्पबहुपुष्पसुपूजिताय
तस्मै म_काराय नमः शिवाय ॥२॥

शिवाय गौरीवदनाब्जवृन्द
सूर्याय दक्षाध्वरनाशकाय ।
श्रीनीलकण्ठाय वृषध्वजाय
तस्मै शि_काराय नमः शिवाय ॥३॥

वशिष्ठकुम्भोद्भवगौतमार्य
मूनीन्द्रदेवार्चितशेखराय ।
चन्द्रार्कवैश्वानरलोचनाय
तस्मै व_काराय नमः शिवाय ॥४॥

यज्ञस्वरूपाय जटाधराय
पिनाकहस्ताय सनातनाय ।
दिव्याय देवाय दिगम्बराय
तस्मै य_काराय नमः शिवाय ॥५॥

यतिले पुगेन, महामृत्युञ्जय मन्त्र जप्न थाल्छु ।

ॐ त्रयम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बंधनान्मृत्योर्मुक्षीय मामृतात् ॥

अह पुग्दै पुगेन । पुगोस पनि कसरी ७ महिना भनेको थोरै समय पनि त हैन । पारी मन्दिर पट्टि जाने मन छ । बाबालाई दर्शन गर्ने मन छ । तर अह अहिले वर्जित छन यी कार्यहरु ।

मन्दिरको मुलद्वारबाट पस्ने बेला ठूलो स्वरले “जय शम्भो” चिच्याउदाका दिन सम्झिन्छु । भित्र छिरेर देब्रे पट्टीका शिवलिंगहरु ढोग्दै बासुकी नागको मन्दिरमा प्रणाम टक्राएर घुम्दै मन्दिर पछाडी रहेको बाबा बुढानिलकण्ठको मुर्तीमा शिर निहुराएको सम्झिन्छु । घुमेर शिव लिंगमा जल चडाइ पशुपतिनाथको मुल मन्दिरको टुँडालमा रहेको पादुका दर्शन गरेका दिनहरु मानस्पटलमा घुमुरहेका छन् ।

श्रीकृष्ण भगवानको मुर्तिलाई बाहिरबाट प्रणाम गर्दै भैरवथान छिरेर उन्मत्त भैरवको पाउमा शिर टेकाइ “जय भैरव” भनेको दिन अस्ति जस्तो लाग्छ । भैरवको दर्शन पछि त्यहा रहेका पुजारीले ढाडमा ड्याम्म पड्काउदा कति आनन्द लाग्थ्यो । बाहिर नव ग्रहको दर्शन पछि मन्दिर दर्शनका लागि नन्दी अगाडि बनाइएको भर्याङ्गबाट बाबालाई दर्शन गर्दा लाग्थ्यो कैलाश तेहि हो । बाबा तेहिबाट मुस्कुराएर मलाई हेरिरहनु भएको छ । आफू भन्दा पछाडीकाले छिटो छिटो भनेर कराएसी फेरि घुमेर तेहि भर्याङ्ग चडी बाबाको दर्शन गरेका दिन झलझली आइरहेको छ ।

आँखाबाट फेरि आँसु झर्छ । आफुलाई सम्हाल्दै DV परेर अमेरिका उँड्नु पुर्व सौगातले भनेका “यी समय पनि बिति जानेछ ।” भनाई सम्झिन्छु । सधै त यतिकै नहोला नि है । बाबाले हामीहरुको परीक्षा लिँदै हुनुहुन्छ । जुन दिन यो परीक्षामा हामी उत्रिण हुनेछौं त्यो दिन यो सबै महामारी सकिने छ । जस्तै समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट बिषले संसार जलाउन खोज्दा बाबाले तेस्लाई आफ्नो कण्ठमा लिइ संसारको उद्धार गर्नु भए थियो तेसै गरि बाबाले यस कोभिडको महामारीबाट हामी सबैको रक्षा गर्नु हुने छ । मनमा यस्तै खेल्दै गर्दा ध्यान गर्न मन लाग्यो ।

तर त्यहा बसौ कसरी? बिहानै देखि पानी परेको रोकिएकै छैन । पछाडी रहेका थुप्रै शिवलिङ्गवाला मन्दिर(त्यस स्थानको नाम मैले पत्ता लगाउन सकिन) मध्य एक मन्दिर भित्र छिर्छु र जुत्ता फुकालेर ध्यान गर्न तिर लाग्छु ।

कानमा हेडफोन लाएर Hitesh Ramsharan को शव्दमा Vinay Katoch ले स्वर भरी Record Mill नामक Youtube च्यानल मार्फत release गरिएको “मे शिव हुँ” गित/भजन बजाउदै आँखा चिम्म गरेर केही समय आफुमा डुब्ने प्रयास गर्छु ।

केही समयमै चर्काचर्कीको आवाज आउँछ । ध्यान भंग भएकोमा नमज्जा मान्दै आँखा उघारेर हेर्दा पारी पट्टि ब्रम्हनाल छेवैमा एउटा शव देख्छु । फुल बेच्ने दिदीहरु र सायद तेही प्राणहिन देहका संवेदनाहिन आफन्तहरु बिच सयपत्री मालाको मोलमोलाइ चल्दै थियो ।

ती मान्छेको मुर्खता देखेर हाँसो लाग्छ । हाँस्दै यता उति हेर्न थाल्छु । लगातारको वर्षाले बागमति गंगाको बहाव बढेको पाए । केही दिदीबहिनीहरु किनारमा रहेको फोहोर सफा गर्दै हुनुहुन्छ । सायद Khem’s Cleaning Service ले यो महामारीको बिचपनी आफ्नो काम गरिरहेकै रहेछ । यताउती हेर्छु । सधैं सयौंको संख्यामा भक्तजनहरु देखिने त्यस स्थान आज बिलकुलै शून्य छ । स्वदेशी तथा बिदेशी आगन्तुकहरुले ओगट्ने पुलमा आज २ टा बाँदर मात्र छन । पर आर्यघाटबाट धुवाँको मुश्लो मडारिएर आकाश छुन तछाडमछाड गर्दै छन । पानी एकनासले परिरहेकै छ ।

यतिकैमा पारी मन्दिरको घण्ट बज्छ । नित्य आरतीको लागि चारै ढोका खोलिएको रहेछ । टाडाबाटै भए पनि बाबाको दर्शन गर्न पाँउछु । मन आनन्दित भएको भान हुन्छ । बाबा त म संगै हुनुहुन्छ नि यहा टाडा नजिकको त कुरै छैन जस्तो लाग्छ । पारी आरति हुन्झेल यता उभिएर हेरिरहँदा वारी किनारमा पनि बागमति सन्ध्या आरतीको तयारी हुन्छ ।

तिन जना पुजारी, केहि संख्यामा सहयोगीहरु, एक वाचक जो स्वयम् हार्मोनियम बजाउछन अनि उनीलाई साथ दिन तबला बाधक र कहिलेकाही बाँसुरी बाधक पनि ।

“साम्भ सदा शिव, साम्भ सदा शिव, साम्भ सदा शिव, हर महादेव

हर महादेव, हर महादेव, हर हर हर हर हर महादेव”

लाउडस्पिकरमा यो भजन बज्दा सुशील चालिसे, साजन भुसाल र म, हामी संगै सुरमा सुर मिलाउने प्रयास गर्थियौं । तर आज माहोल भिन्न छ । एक जना पुजारी र उनीलाई साथ दिन एक जना सहयोगी । तेही संगै एक हातमा पुस्तक र अर्को हातले छाता लिएर भजन गाउने २ जना वाचकहरु । न हार्मोनियम छ न त तबला नै ।

सांगीतिक भजन कृतनमा रमाउने बानी परेको मलाई आजको आरति खल्लो लाग्छ । फेरी सम्झिन्छु न हुनु मामा भन्दा त कानै मामा ठिक । अनि उही वाचकहरु संगै सुर मिलाएर आफुले जानेका भजन गाउदै आरतिमा सामेल हुन्छु ।

बागमति सन्ध्या आरति सक्किएपछी त्यहा जय जय कार हुन्छ । बिभिन्न शक्तिपिठहरुको नाममा जय जय कार चल्दा सुशील चालिसे र म ठुला ठुला स्वरमा जय जय भन्दै चिच्याउथियौं । तर आज त्यहा पुरै किनारमा म बाहेक अरु दुइजना भक्तजनहरु मात्र हुनुहुन्थ्यो ।

बागमति गंगाको जय
बाबा पशुपतिनाथको जय
गुहेश्वोरी माताको जय
अन्नपूर्ण माताको जय
.
.
.
.
नेपाल जननीको जय
ॐ नम: पार्वती पतये हर हर महादेव

अटाइ नअटाइ मान्छेको भिड, कोहि नाच्दै त कोहि गाउदै भजन गएका दिन सम्झिनछु । पशुपतिनाथ परिसरमा रहने हजारौको भिड सम्झिदै ति दिनहरु फेरी फिर्ने आशामा आरति सक्काएर मन मनै अन्त्यमा गाइने भजन गाउँदै घर फर्किन्छु ।

“हर हर महादेव सम्भो, बाबा पशुपतिनाथ सम्भो
हर हर महादेव सम्भो, बाबा प्राणीनाथ सम्भो
सम्भो सम्भो सम्भो सम्भो
सम्भो सम्भो सम्भो सम्भो
महादेव महादेव महादेव महादेव
महादेव महादेव महादेव महादेव
शिव ॐ शिव ॐ शिव ॐ शिव ॐ
शिव ॐ शिव ॐ शिव ॐ शिव ॐ
सम्भो सम्भो सम्भो सम्भो
सम्भो सम्भो सम्भो सम्भो’

Leave a Comment

Your email address will not be published. Required fields are marked *